पाल्पा, ६ भाद्र । १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। पक्राउ परेका किशोर पाल्पा जिल्ला अन्तरगतका हुन ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो करिब ३:३० बजेको समयमा सो घटना घटेको हो।

पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो। प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई लिची खान दिन्छु भनी ललाई-फकाई आफ्नो घरमा बोलाएका थिए। त्यसपछि उनले घरको गोठमाथिको पहिलो तलाको कोठाभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित किटानी जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो।

प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।