शरद् ऋतुको स्वर्णिम बिहानी, आँगनभरि उज्यालो छ,
दसैँको यो पावन पर्वमा, हर्ष र उमङ्ग छाएको छ।
जमरा उम्रे, मनमा पलाए आशाका नवीन पालुवा,
घरघरमा सुख छरिदेऊ, हे दुर्गे भवानी, जगदम्बा!
हे दुर्गे भवानी! करुणाको दृष्टि देशमाथि परोस्,
प्राकृतिक विपत्ति र मानवीय सङ्कट सधैँका लागि टरोस्।
हिमाल, पहाड, तराईमा शान्तिको सुगन्ध छाओस्,
नेपाल आमाको मुहारमा समृद्धिको सुनौलो घाम लागोस्।
न बाढीले बस्ती बगाओस्, न पहिरोले घर उजाडोस्,
न भूकम्पको त्रासले कुनै आमाको काख रित्तियोस्।
न आँधीले सपना खोसोस्, न खडेरीले खेत जलाओस्,
न महामारीको कहरले कुनै जीवनको दीप निभाओस्।
न युद्धको ज्वालाले जलोस्, न द्वेषको विष फैलियोस्,
न जात, धर्म र भाषाका नाममा मानवता विभाजित होस्।
न हिंसाले रगत बगाओस्, न अन्यायले शिर झुकाओस्,
हे माता! तिम्रै कृपाले देशमा सद्भावको फूल फुलोस्।
दुर्गे माता! तिम्रा चरणमा विन्ती छ, बारम्बार,
सुरक्षित रहून् गाउँबस्ती, सुरक्षित रहोस् सिङ्गो संसार।
असहायका आँसु पुछ्ने हात हरेक घरमा जन्मिऊन्,
भोकले छटपटिएका ओठमा अन्न र मुस्कान फुलून्।
किसानका खेतबारीमा सुनझैँ धानका बाला झुलून्,
श्रमजीवीका पसिनाभित्र समृद्धिका सपना फुलून्।
युवाका हातले आफ्नै माटोमा सुनौलो भविष्य कोरून्,
विदेशिएका सन्तान फर्की आफ्नै देशको सेवा गरून्।
विद्यालयमा ज्ञानको दीप, अस्पतालमा सेवाभाव होस्,
न्यायालयमा सत्यको विजय, शासनमा इमानदारिता होस्।
भ्रष्टाचारका कालो बादल सदाका लागि हटून्,
सत्य, निष्ठा र सदाचारका उज्याला किरण छरिऊन्।
हिमाल हाम्रो गौरव बनोस्, पहाड हाम्रो पहिचान,
तराईको उर्वर भूमिले बढाओस् राष्ट्रको मान।
मेचीदेखि महाकालीसम्म एउटै भावनाको माला गाँसियोस्,
विविधताभित्र एकताको अमर दीप सधैँ बलिरहोस्।
धनीको मनमा दीनदुःखीप्रति करुणाको भाव जागोस्,
शक्तिशालीको हातबाट निर्बलको रक्षा होस्।
सत्तामा बस्ने हरेक मनमा जनसेवाको भावना पलाओस्,
राष्ट्रभन्दा ठूलो स्वार्थ नहोस्, देशप्रेम सर्वोपरि बनोस्।
दसैँ केवल टीका होइन, आत्मीयताको उत्सव बनोस्,
जमरा केवल परम्परा होइन, सद्भावको प्रतीक बनोस्।
टाढिएका मनहरू जोडिऊन्, टुटेका सम्बन्ध गाँसिऊन्,
वर्षौँदेखि थिचिएका पीडामा आशाका किरण जागून्।
जसका घरमा चुलो बल्दैन, तिनका आँगनमा पनि दसैँ आओस्,
जसका आँखामा आँसु छन्, तिनको जीवनमा हाँसो छाओस्।
अनाथले अभिभावकत्व, वृद्धले सम्मान पाऊन्,
हरेक नेपालीले आफ्नोपन र सुरक्षाको अनुभूति गरून्।
हे नवदुर्गा! तिम्रो शक्तिले अज्ञान र अन्धकार हटोस्,
लोभ, मोह, अहङ्कार र अधर्मको जरा सुक्दै जाओस्।
सत्यको विजय भइरहोस्, असत्य पराजित बनोस्,
मानवताको पवित्र मन्दिरमा प्रेमको आराधना भइरहोस्।
लआओस् यस्तो सुनौलो युग, जहाँ भयको नाम नहोस्,
जहाँ निर्दोषका आँखामा आँसु र मनमा त्रास नहोस्।
जहाँ श्रमको सम्मान होस्, जहाँ न्यायको वास होस्,
जहाँ हरेक नेपालीको ओठमा सुखद भविष्यको आभास होस्।
हे दुर्गे भवानी! नेपाललाई सधैँ आशीर्वाद दिइरहू,
शान्ति, एकता र समृद्धिको अमृतधारा बगाइरहू।
प्राकृतिक र मानवीय सङ्कटबाट राष्ट्रलाई जोगाइरहू,
नेपालीको सुख, स्वाभिमान र गौरव सधैँ बढाइरहू।
लेखक : डा. परशुराम ढकाल
नेपाली साहित्यमा बिद्यावारिधी हुनुहुन्छ ।











