भविन्द्र गौतम, पाल्पा । नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले झिरभन्ज्याङ्ग एकता क्लब बगनासकाली पाल्पाले चङ्गा उडाउने प्रतियोगिता आयोजना गरेको छ। विगत ३ वर्षदेखी निरन्तर चंगा उडाउने प्रतियोगिता संचालन गर्दै आएको क्लवले यस वर्ष पनि दशैको पूर्णिमाको अवसर पारी प्रतियोगिताको आयोजना गरेको हो ।
नेपाली समाजमा विशेषगरी बडादशैँको समयमा चङ्गा उडाउने परम्परा रहिआएको छ। आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रभावसँगै ओझेलमा पर्दै गएको यस मौलिक परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउने तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संरक्षक कृष्ण प्रसाद भुसालले बताउनुभयो ।
चङ्गा उडाउने प्रतियोगिताले सहभागीहरूबीच आपसी सद्भाव, भाइचारा र मनोरञ्जन अभिवृद्धि गर्नुका साथै स्थानीय मौलिक संस्कृति र परम्पराको संरक्षणमा सकारात्मक योगदान पुर्याउने रचनात्मक कार्यक्रमले स्थानीय समुदायलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तामा आफ्नो संस्कृति, संस्कार र परम्पराप्रति अपनत्व जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सयौं दर्शकका बिचमा नोलो आकाशमा उडिरहेका चङ्गा हेर्दा प्रतियोगिता स्थलमा रौनक देखिन्थ्यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। १६ जना सहभागी मध्ये बाट धनबहादुर परियार प्रथम हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गर्न सफल भए। त्यसैगरी कृष्णप्रसाद बस्याल द्वितीय हुँदै ८ हजार रुपैयाँ, शंकर बस्याल तृतीय हुँदै ५ हजार रुपैयाँ र नवीन बस्याल सान्त्वना स्थान हासिल गर्दै १ हजार रुपैयाँ प्राप्त गर्न सफल भए। चारै जना विजेतालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। सहभागी मध्येबाट उत्कृष्ठ लट्टाई र उत्कृष्ठ चंगा बनाउने रविन बस्याल र टिकाराम बस्याल लाई सम्मान गरिएको थियो । त्यसैगरी सबैभन्दा कम उमेर र ज्येष्ठ नागरिकबाट रिसव भुसाल र भगवान भुसाल गरी २ जना प्रतिष्प्रधीलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट चङ्गा, लट्टाई र आफैले तयारी गरेको चङ्गा थप आकर्षक देखिन्थ्यो । प्रमुख अतिथि लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष हरि प्रसाद बस्यालले स्थानीय कला र संस्कृतीको संरक्षण र जर्गेनागर्ने उदेश्यले आयोजना गरिएको यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बगनासकाली ८ का वडा अध्यक्ष मोतिलाल वस्याल, निर्णायक संयोजक विनोद भारती लगायतले प्रतियोगिताले स्थानीय संस्कृती संरक्षणमा युवाहरुको जोस र जाँगरको प्रशंसा गर्दै आगामी दिनमा निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो । चङ्गा उडाउने प्रतियोगिताले सहभागीहरूबीच आपसी सद्भाव, भाइचारा र मनोरञ्जन अभिवृद्धि गर्नुका साथै स्थानीय मौलिक संस्कृति र परम्पराको संरक्षणमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको क्लबका अध्यक्ष टोपराज बस्यालले बताउनुभयो ।
यस्ता रचनात्मक कार्यक्रमले स्थानीय समुदायलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तामा आफ्नो संस्कृति, संस्कार र परम्पराप्रति अपनत्व जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। झिरभन्ज्याङ्ग एकता क्लबको यस पहललाई परम्परा संरक्षण र सामुदायिक एकताको उदाहरणका रूपमा लिन सकिन्छ।











