पाल्पा । क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता एनपीएल को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार साँझ ५ बजे सुरु हुनेछ। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली प्रतिस्पर्धामा छन्। उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
लुम्बिनी लायन्सले अघिल्लो संस्करणमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो। सुरुवाती खेलमा अपेक्षित प्रदर्शन गर्न नसके पनि टोलीले त्यसपछि लगातार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। त्यसैले यसपटक पनि लुम्बिनीको लक्ष्य उपाधि रक्षा गर्नु हुनेछ। नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रने लुम्बिनीलाई आफ्नो अघिल्लो सफलताले आत्मविश्वास दिलाउने छ।
लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली प्रतिस्पर्धामा छन्। उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणमा उपविजेतामा सीमित भएको थियो। लगातार दोस्रोपटक उपाधिनजिक पुगेर पनि सफलता हात पार्न नसकेको टोली यसपटक सुरुदेखि नै बलियो प्रदर्शन गर्ने योजनामा छ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल सम्मको यात्रा तय गरेको थियो।
यस पटकको एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यसअघि पहिलो र दोस्रो संस्करणका विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार रहेकाे थियाे ।
क्यानले सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि साधारण टिकट न्यूनतम ५ सय रुपैयाँ र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिताको नकआउट चरणमा भने टिकटको मूल्य बढ्नेछ। इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।











