पाल्पा । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। बडादशैंकाे आज महत्वपूर्ण दिन । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि समितिले १० बजेर २६ मिनेट तोकिदिएको छ । दक्षिणतिर फर्किएर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् ।
पुरुषका लागि मन्त्रले दिने आशीर्वाद
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण।।महिलालाई मन्त्रले दिने आशीर्वाद
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।
घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८:४९ बजे रहेको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले देवीलाई विसर्जनपश्चात आज टीका लगाउन साइत खोज्नु नपर्ने संस्कृतिविद् बताउँछन्। दुर्गा विसर्जन गरेपछि सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ। कतिपय स्थानमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ,त्यसपछि मान्यजनबाट टीका लगाइन्छ।

लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने
विजयादशमीको दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उल्लेख छ। टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।











