पाल्पा । भगवान् श्रीकृष्णको पूजाआराधना गरी वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्णजन्माष्टमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

यस दिनलाइ भगवान् श्रीकृष्णको पूजा–आराधनासँगै उहाँका विचार र कर्मको धार्मिक उत्सवमा सीमित नगरी सकारात्मक शिक्षालाई दैनिक व्यवहारमा लागू गर्न अवस्यक छ । श्रीकृष्णजन्माष्टमी का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।