पाल्पा, २० भदौ । युद्धमा अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (खटयात्रा) निकालिँदै छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो ।

जाग्रामको समयमा झकिझकाउ मन्दिर ।

आज अपराह्न १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने सञ्चालक समितिका अध्यक्ष महर्जनले जानकारी दिए । विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच भने नहुने उनको भनाइ छ । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा जात्रा निकाल्न लागिएको मन्दिर ब्यवस्थापन समितिले जानकारी दिएको छ । यस बर्ष बाजागाजाको तामझाम नगरि <span;>नेपाली सेनाको बाजा प्रयोग गरेर राथलाई बजार परिक्रमा गराउने ब्यवस्थापन समितिले  जानकारी दिएको छ ।

शुभ साइतमा रथयात्राको सुभारम्भ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा रथ निकालिएको छ । नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा अगाडि बढ्ने छ । यसलाई भगवतीजात्रा, रथ यात्राअर्थात् सिन्दूर जात्राकानामले पनि चिनिन्छ । भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवतीजात्रा रथ यात्रालाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलिदिइने छ ।

भगवती मन्दिर प्राङ्गणमा भगवती माता तथा नारायण भगवानको रथ लाई मन्दिर परिक्रमा गराउदै ।

पाल्पाली प्रशासकका रूपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रूपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ । घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूर जात्रा गर्ने छु’ र ‘भगवतीको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए । दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन विजयोत्सवका रूपमा निरन्तरता दिदै आइएको छ ।
अङ्ग्रेजलाई युद्धमा हराएकाले विजयजात्राका रूपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए ।
युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । आज नै अमरनारायण भगवानको रथ यात्रा पनि नगर परिक्रमा गराउने प्रचलन छ ।