नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेपछि जोखिम कायमै रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढी आउने सम्भावना केही कम भए पनि खोला तथा नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तालको अवस्था अझै जोखिमपूर्ण रहेकाले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमै रहन आग्रह गर्नुभएको छ।
यसअघि, हिजो नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको थियो । पानीको सतह घटेसँगै ताल फुटेर ठूलो बाढी आउने तत्कालको जोखिम केही कम भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका थिए । जोखिम बढेपछि केही घण्टाका लागि रोकिएको उद्धार कार्य पुनः सुरु गरेका छ । तर अहिले पनि उद्धार र खोजका लागि नेपाली सेना, प्रहरी, र सशस्त्र प्रहरीहरु नदि किनारमा नै रहेकाले सावधानी अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै, त्रिशूली नदी किनारमा जोखिम कायमै रहेकाले रसुवादेखि मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ।











