काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य आजबाट सुरु गरिएको छ।
सार्वजनिक स्थान अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने अभियान सरकारको निर्देशनअनुसार अघि बढाइएको हो।
आज दिउँसोदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरी बस्ती हटाउने काम भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार हाल सुरक्षाकर्मीको उपस्थितिमा अस्थायी तथा स्थायी संरचना हटाइँदैछ।
प्रहरीका अनुसार थापाथली क्षेत्रमा बिहान बस्ती खाली गराएपछि अहिले गैरीगाउँमा अभियान सञ्चालन गरिएको हो। हालसम्म कुनै अवरोध वा झडपको अवस्था भने सिर्जना भएको छैन।
संवाददाता









