काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश पेश गर्नुभएको छ।
सभाको पहिलो अधिवेशनअन्तर्गत सदस्यहरूले आ-आफ्ना मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीमा उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गर्नुभएको हो।
समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा जनसङ्ख्याको आधारमा आरक्षण सुनिश्चित गर्न कानुन संशोधन गरिएको जानकारी दिइएको छ। यसैगरी, आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन सम्बन्धी अध्यादेश ल्याइएको हो।
गृहमन्त्रीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयअन्तर्गत ल्याउने व्यवस्था गरिएको पनि बताउनुभयो। बैठकले विभिन्न पूर्वसंविधानसभा सदस्यहरूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। अर्को बैठक चैत २२ गते बिहान ११ बजे बस्नेछ।
संवाददाता









