पाल्पा । पर्यटकिय नगरी तानसेनको मुख्य प्रबेश द्वार बर्तुङ्गमा पहिलो पटक ‘प्रथम बर्तुङ्ग खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८३’ आयोजना हुने भएको छ। रैथाने स्वाद र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष भूमिकला बुढाथोकीले जानकारी दिनुभयो ।
एक दिन चल्ने महोत्सवमा लोपोन्मुख अवस्थामा पुगेका विभिन्न जातजाति र समुदायका रैथाने खानाहरू जस्तै: बटुक, चुकाउनी, पकौडा, सेलरोटी र योमरी लगायतका परिकारहरूको पहिचान र प्रचार-प्रसार गरिनेछ । पाल्पाको लोकप्रिय रैथाने परिकार ‘बटुक’ लाई विशेष प्रवर्धन गरिनेछ। महोत्सवमा आगन्तुकहरूलाई आकर्षित गर्न बटुक बनाउने प्रत्यक्ष विधि (तरिका) समेत प्रस्तुत गरिने तयारी छ। खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रमले ओझेलमा परेका स्थानीय स्वाद र संस्कृतिलाई देश-विदेशमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

महोत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न व्यवस्थापकीय तयारीहरू गरिएका छन । महोत्सवमा १५ वटा भन्दा बढी खानाका स्टलहरू रहनेछन्, जहाँ आगन्तुकहरूले एउटै थलोमा विविध स्थानीय स्वादहरूको आनन्द लिन सक्नेछन । महोत्सव सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा तानसेन नगरपालिका वडा नं. ६ बाट १ लाख रुपैयाँ विनियोजन भएको छ। महोत्सवमा ५ हजारभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति, सांस्कृतिक झाँकी र विभिन्न प्रतियोगिताहरू समावेश हुनेछन्। महोत्सवलाई अनुशासित र पारिवारिक वातावरणमा सम्पन्न गर्नका लागि मेला स्थलमा मदिरा सेवन र बिक्री-वितरणमा कडाइका साथ रोक लगाइने आयोजकले जनाएको छ ।