पाल्पा, ५ जेष्ठ । पाल्पा देशकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला’ घोषित भएको छ । नेपालको संविधान र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को मर्मअनुरूप घरमा हुने प्रसूतिलाई शून्यमा झार्दै शतप्रतिशत महिलाले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा लिएपछि यो ऐतिहासिक सफलता मिलेको हो । जिल्लाका सबै गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै सुरक्षित रूपमा प्रसूति सेवा प्राप्त गरेसँगै पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना भएको जिल्ला घोषणा गरिएको हो ।
पाल्पामा कुल २ हजार २ सय ६२ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएको पाल्पाको स्वास्थ्य तथ्यांकमा उल्लेख छ । प्रोटोकलअनुसार ४ पटक गर्भ जाँच गराउनेको सङ्ख्या ९४.५६ प्रतिशत र ३ पटक प्रसूति जाँच गराउनेको सङ्ख्या ९७.५७ प्रतिशत रहेको छ । जिल्लाका १० वटै स्थानीय तहका ८१ वटै वडाहरूमा दिगोपना सुनिश्चित गरेपछि यो सफलता प्राप्त भएको हो ।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको सचिवालय पाल्पाद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाली जनता, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयोः “पूर्ण संस्थागत प्रसूति सेवा दिने जिल्लाको रूपमा देशमै पहिलो हुन सफल पाल्पालाई हार्दिक बधाई भन्न चाहन्छु । सुत्केरी हुने महिलाहरूलाई अभिप्रेरित गरी स्वास्थ्य संस्थामा पठाउन चेतना अभिवृद्धि गर्ने स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको भूमिका महत्वपूर्ण रहेको छ । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामा जिम्मेवारी निभाएकाले र जनप्रतिनिधिहरूले निरन्तर नेतृत्व गरेकाले यो खुसीको क्षण सम्भव भएको हो । तपाईंहरू सबै धन्यवादका पात्र हुनुहुन्छ, काम गरेर आफूलाई अब्बल साबित गर्नुभएको छ ।“
सोही अवसरमा पाल्पा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री आचार्यले थप्नुभयोः “पाल्पा अस्पताललाई ५० शैयाको अस्पताल बनाउने गरी प्रदेश सरकार अघि बढ्छ । अहिले भएको भवन भत्काएर नयाँ बनाउन कम्तिमा ३/४ वर्ष लाग्छ, यदि राम्रो ठेकेदार पर्यो भने । त्यसैले अब जिल्ला अस्पताल चलाउन नयाँ भवन नबन्दासम्म निःशुल्क रूपमा उपलब्ध हुने कुनै सरकारी संरचनाको जोहो गर्दै गर्नुहोला । हाम्रा हरेक वडामा भएका बर्थिङ सेन्टर व्यवस्थित तरिकाले सञ्चालन गर्न सकिरहेका छैनौं, त्यसलाई मर्ज गरौं र उपकरण सही तरिकाले व्यवस्थापन गरौं । कम स्रोत र साधनका बीच प्रदेश सरकारले काम गर्ने कोसिस गरिरहेको छ ।“
समारोहमा बोल्ने बक्ताहरुले पाल्पाको स्वास्थ्य क्षेत्रमा आएको सुधारको प्रशंसा गर्दै पाल्पाका सरकारी स्वास्थ्य संस्थाहरूमा नागरिकको विश्वसनीयता बढ्दै गएको छ । सेवामा सबैको पहुँच बढेको छ । यसकै परिणामस्वरुप लुम्बिनी प्रदेशको मातृ मृत्युदर घट्दो क्रममा रहेको औल्याउनु भयो । जिल्ला खोप समन्वय समिति र जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका अनुसार गत वैशाख १५ देखि ३१ गतेसम्म जिल्लाका सबै पालिकामा प्रमाणीकरण सम्पन्न गरी यो जिल्लास्तरीय घोषणा सम्भव भएको हो ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा ७० मा र नवजात शिशु मृत्युदर प्रति १ हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्यलाई पूरा गर्न पाल्पाको यो घोषणा कोसोढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।
संवाददाता
