पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाका दुई स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको छ।

तिनाउ गाउँपालिका–५ स्थित चरचरे र जोरधाराको बीचमा पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो १ः२५ बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
त्यस्तै, तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिक पहिरो खसेर अवरुद्ध भएको सडक पनि दिउँसो १ः११ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
पहिरो हटाइएपछि दुवै स्थानमा सवारीसाधनको आवतजावत पुनः सञ्चालनमा आएको छ। वर्षा निरन्तर भइरहेकाले सिद्धार्थ राजमार्गका जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।











