काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो ले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाएको छ।
विभागकै निर्देशनअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का लाई समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ।
सीआईबीका एआईजी मनोज केसी का अनुसार विभागको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो। तीन पूर्वप्रधानमन्त्रीबारे भने उनले औपचारिक प्रतिक्रिया दिन चाहेनन्।
गृह स्रोतका अनुसार यसअघि जेनजी आन्दोलनका क्रममा देउवा निवाससहित अन्य स्थानमा मुचुल्का उठाएर सुरु गरिएको अनुसन्धानलाई अहिले थप तीव्र बनाइएको हो। त्यसक्रममा प्रचण्डपुत्री गंगा दाहालको निवास र ओली निवासमा समेत प्रारम्भिक अनुसन्धान भइसकेको थियो।
हाल विभागको समन्वयमा उक्त अनुसन्धानलाई सीआईबीले थप विस्तार गर्दै अघि बढाएको जनाइएको छ।
संवाददाता









