काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा मनाइने चैती छठ पर्व अन्तर्गत आज तेस्रो दिन सन्ध्या अर्घ सम्पन्न गरिएको छ।
ब्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पूजा–आराधना गरेका छन्। गत आइतबारदेखि सुरु भएको यो पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ।
कार्तिक महिनामा मनाइने छठजति ठूलो सहभागिता नभए पनि पछिल्ला वर्षहरूमा चैती छठ मनाउनेहरूको संख्या बढ्दै गएको छ।
चार दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन नुहाएर चोखो खाने, दोस्रो दिन खरना मनाउने र तेस्रो दिन सन्ध्या अर्घ दिने परम्परा रहेको छ। सन्ध्या अर्घपछि ब्रतालुहरू रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहान सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गर्ने चलन रहेको छ।
संवाददाता









