पाल्पा । चापपानी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स ग्यारेजमा खडा भएको करिब २ वर्ष बढी भएको छ । एम्बुलेन्स २०८० वैशाख ५ गतेदेखि हालसम्म ग्यारेजमा थन्काएर राखिएको हो ।
भारतीय राजदुतावास काठमाडौले २०७५ साल बैशाख ५ गते चापपानी स्वास्थ्य चौकीको स्वामित्वमा रहनेगरी उपलब्ध गराएको एम्बुलेन्स २०७६ साउन देखि २०८० बैशाख ५ गते सम्म सञ्चालनमा रहेपनि त्यसपछि बिचमा १५ दिन बाहेक अन्य समयमा सञ्चालन नभएको चापपानी स्वास्थ्य चौकी प्रमुख सिर्जना चापागाईले जानकारी दिनुभयो । सेवा सुविधा कम भएको कारण चालक भेटाउन नसक्दा समस्या भएको उहाँको भनाइ छ । एम्बुलेन्स सञ्चालनका लागि छुटै समिति रहेको र यसको सञ्चालन तथा व्यवस्थापनको कार्य समितिले नै गर्दै आएको स्वास्थ्य चौकीले जनाएको छ । समितिको खातामा अहिले पनि तीन लाख बढी रकम छ ।
चालक र स्रोत अभावका कारण नियमित रुपमा एम्बुलेन्स चलाउन नसकिएको समितिका अध्यक्ष कमल विक्रम खाँडले बताउनुभयो । उहाँले चालक नियुक्तिका लागि ८ पटक बैठक बसेर विज्ञापनको सूचना निकाल्दा पनि चालक भेटाउन नसकिएकोले एम्बुलेन्स ग्यारेजमा खडा गर्नुपरेको बताउनुभयो ।
चापपानी स्वास्थ्य चौकीमा नचलायर राखिएको एम्बुलेन्स गाउँपालिका मातहतबाट चलाउने प्रस्ताव गर्दा समितिले गाउँपालिकालाई नदिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षमा सुत्केरीलाई यातायात निशुल्क गर्ने योजना तथा कार्यक्रम ल्याएकोले नचलाई राखिएको एम्बुलेन चलाउने प्रस्ताव गर्दा गाउँपालिकालाई नदिने भनेपछि अहिले गाउँपालिकाले आफै एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाउनु परेको बताउनुभयो ।
एक्मुलेन्स सञ्चालन नगरी ग्यारेजमा राखिएको विषयमा चर्चा हुन थालेपछि स्वास्थ्य चौकीले सञ्चालन नगरी राखेको एम्बुलेन्स सञ्चालनका लागि समितिले बुधबार बगनासकाली गाउँपालिकामा हस्तान्तरण गर्ने निर्णय गरेको बुझिएको छ ।
संवाददाता


